-NRNA: १७ बुँदे रोम घोषणा गर्दै एनआरएनए १२ औं युरोप क्षेत्रीय बैठक सम्पन्न

NRNA: १७ बुँदे रोम घोषणा गर्दै एनआरएनए १२ औं युरोप क्षेत्रीय बैठक सम्पन्न

Hollywood Khabar August 04,2019 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ औं युरोप क्षेत्रीय बैठक २०१९ का निर्णयहरु:

रोम, इटाली/३–४ अगष्ट २०१९

नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, कांग्रेस नेता शेखर कोइराला, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो, संरक्षकहरु जीवा लामिछाने, शेष घले, रामप्रताप थापा, युरोपस्थित नेपाली राजदूतहरु, संस्कृति पर्यटन र नागरिक उड्यन सचिव मोहनकृष्ण सापकोटा, प्रदेश १ का सांसद बसन्त बानियाँ, भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्य, होटेल एशोसिएशन नेपालका अध्यक्ष सिर्जना राणा, उच्च अधिकारीहरु, जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ युएई, कतार, एवम् युरोपका २२ राष्ट्रिय समन्वय परिषद्का गरी ३५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको १२औं युरोपियन बैठक युरोपियन क्षेत्रीय संयोजक शिव कुमार बरुवालको संयोजकत्वमा इटालीको रोममा सम्पन्न भएको छ । बैठकले निम्न निर्णय गर्दछः

१. नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि संविधान जारी भएको झन्डै ४ वर्षसम्म गैरआवासीय नेपालीले सो अधिकार उपभोग गर्न पाइरहेका छैनन् । संविधानले व्यवस्था गरेअनुसार तत्काल स्पष्ट कानुन बनाइ कार्यान्वयन गर्न यो बैठक नेपाल सरकार र नेपालका राजनीतिक दलहरुसमक्ष अनुरोध गर्दछ । साथै गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको कानुनी रुपमा संरक्षण हुने व्यवस्थाका लागि समेत हामी माग गर्दछौँ । नागरिकतासम्बन्धी प्राप्त उपलब्धीलाई संस्थागत गर्दै कानुनमा स्पष्ट व्यवस्था र गैरआवासीय नेपालीलाई थप अधिकारका लागि पहल जारी राख्ने निर्णय यो बैठक गर्दछ ।

२. संविधानको धारा २९१ (१) ले काम विशेषले विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुको अधिकार कुन्ठित गरेको महसुश गरिएको छ । नेपाली नागरिकको मौलिक अधिकार हनन् नहुने गरी मौलिक अधिकारसँग बाझिएको यो व्यवस्था संशोधन गर्न बैठक नेपाल सरकार र राजनीतिक दलहरुमा आह्वान गर्दछ ।

३. विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्मानित सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको परिपेक्षमा तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित गर्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ । सबै गैरआवासीय नेपालीहरुलाई भावानात्मक रुपमा एकबद्ध गर्नका लागि गैरआवासीय नेपाली ऐनमा गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर आवश्यक सुधार गर्न सरकारसँग यो बैठक आग्रह गर्दछ ।

४. वार्षिक २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित नेपाल सरकारले घोषणा गरिसकेको ‘‘भिजिट नेपाल २०२०’’ कार्यक्रमप्रति ऐक्यवद्धता जनाउँदै यो अभियानमा होमिन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई यो बैठक आह्वान गर्दछ । परिवार र आफन्तलाई भेट्न गरिने भ्रमण हाल अन्तर्रााष्टिय पर्यटनको बढ्दो हिस्सा भइरहेको परिप्रेक्षमा विदेशस्थित गैरआवासीय नेपालीहरुलाई आफू र आफ्नो परिवारसहित नेपाल भ्रमण गर्न समेत यो बैठक अनुरोध गर्दछ ।

५. बैठककै अवसरमा गैरआवासीय नेपाली संघ र नेपाल भ्रमण वर्ष २०२० बीच सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । यसै बैठकमा माननीयमन्त्री, पर्यटन सचिव र नेपाल भ्रमण वर्षका संयोजकको सहभागितामा गैरआवासीय नेपालीमाझ भिजिट नेपाल २०२० को औपचारिक सुरुवात समेत भएको छ । सो सहमतिअनुसार सहकार्य अघि बढाउने निर्णय बैठकले गरेको छ । यसका साथै स्पेनको म्याड्रिडमा बनाउन पहल गरिएको बुद्ध शान्ति पार्क योजना सफल बनाउन सहयोग गर्ने निर्णय समेत गरिएको छ ।

६. नेपालको हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपाली हवाइ कम्पनीहरुलाई आफ्नो सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन नेपाल सरकारलाई अनुरोध गरिन्छ। अत्याधिक मात्रामा पर्यटकहरु भित्र्याउन युरोपस्थित नेपाली राजदूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरुसँग समन्वय गर्न युरोपका सबै राष्ट्रिय परिषद्हरुलाई अनुरोध गर्दछ ।

७. गत चैत्र १५ र १६ गते नेपाल सरकारको आयोजना भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा गैरआवासीय नेपाली संघ (एनआरएएन) ले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्ने सहमतिको कार्यान्वयन गर्ने प्रतिवद्धता यो बैठक गर्दछ । उक्त कोष स्थापना गर्नका लागि देखिएका कानूनी एवम् प्रक्रियागत अड्चनहरु हटाइदिनका लागि नेपाल सरकारसँग अनुरोध गर्दै यूरोपस्थित नेपालीहरुलाई उक्त कोषमा लगानीका गर्न समेत आह्वान गर्दछ ।

८. नेपालमा हाल प्रत्यक्ष वैदेशिक लगानी सन्तोषप्रद मात्रामा हुन नसकिरहेकोमा गैरआवासीय नेपाली संघ चिन्तित छ। प्रत्यक्ष वैदेशिक लगानी, आधुनिक व्यवस्थापन, नयाँ प्रविधि भित्र्याउने र देशको अर्थतन्त्र आधुनिकीकरण गर्ने एक प्रमुख स्रोत भएको सन्दर्भमा गैरआवासीय नेपाली र विदेशी लगानी आकर्षित गर्नु नेपाल सरकारको प्राथमिकता हुनुपर्छ भन्ने निष्कर्ष यस बैठकको छ ।

९. युरोप क्षेत्रीय बैठकमा गैरआवासीय नेपालीहरुको पहलमा सुरु गरिएका मुना कृषि बजार, ठूलो खोला हाइड्रो जस्ता परियोजनाहरु प्रस्तुत गरिएको छ । यी परियाजनासहित कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रमा सामूहिक लगानी गर्न यो बैठक आह्वान गर्दछ ।

१०. लगानी प्रवद्र्धन गर्न सघाउन हाल सीमित देशहरुसँग मात्र भएको लगानी सम्झौता (Bilateral Investment Promotion and Project Agreement - BIPPA) दोहोरो करमुक्ति सम्झौता (Double Taxation Avoidance Agreement - DTAA) जस्ता सम्झौताहरु लगानी आउन सक्ने सबै सम्भावित राष्ट्रहरुसँग गर्न नेपाल सरकारसँग यो बैठक आह्वान गर्दछ । सम्भाव्यताका आधारमा त्यस्ता राष्टहरु छनोट गरी सहकार्य गर्ने प्रतिबद्धता गर्दछ । यो कार्यमा सरकारलाई सघाउने प्रतिबद्धता यो बैठक गर्दछ । साथै सम्भावनाका आधारमा ठूला अर्थतन्त्रहरुसँग आर्थिक साझेदारी सम्झौताहरु (Economic Partnership) गर्न समेत नेपाल सरकार यो बैठक आह्वान गर्दछ ।

११. स्वदेश तथा विदेशमा उद्यमशीलता लगायत सम्पूर्ण क्षेत्रमा महिला सहभागिताको लागि गैरआवासीय नेपाली संघले जोड दिँदै आएको छ । यहि नीति अनुरुप गैरआवासीय नेपाली संघ महिला फोरम समेत सक्रिय रहँदै आएको स्मरण गराउँदै महिला उद्यमशीलता विकास तथा महिला सहभागिताका लागि महिलाहरुलाई लगानी क्षेत्रमा थप अघि बढ्न र बढाउन आह्वान गर्दछ । साथै गैरआवासीय अभियानमा समेत महिलाहरुको सहभागिता बढाउने यो बैठकले गरेको छ ।

१२. गैरआवासीय नेपाली संघ नेपालका लागि विश्वकै एक डायस्पोराको आफ्नै किसिमको सञ्जालको रुपमा विकसित भइसकेको छ । संघका सञ्जालमा अत्याधिक मात्रामा दोस्रो र तेस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई आवद्ध गराउन जरुरी छ। युवा पुस्तालाई अभियानमा सक्रिय बनाउने चुनौतीलाई सामना गर्न युरोपस्थित सबै राष्ट्रिय समन्वय परिषदहरुलाई यो बैठक आह्वान गर्दछ । संघका आगामी कार्यक्रमहरुमा युवाहरुको रुचीका विषय एवं कार्यक्रम समाबेश गर्न सबैमा यो बैठक अनुरोध गर्दछ । नेपालको भाषा संस्कृतिलाई जोगाइ राख्नका निम्ति गैरआवासीय नेपालीका सन्तानलाई नेपालको भाषा, लिपि, संस्कार, संस्कृति सिकाउने कार्य गर्न सबै राष्ट्रिय परिषद्सँग अनुरोध गर्दछ ।

१३. माल्टा, पोल्याण्ड र पोर्चुगलमा राजदुताबास स्थापना गर्न यो बैठक आह्वान गर्दछ । कुटनीतिक मिशन सुरु नहुँदासम्म ती मुलुकहरुमा सहज र नजिक हुने कुटनीतिक नियोगमा हस्तान्तर गराउन समेत यो अनुरोध गर्दछ । नेपालमा कुटनीतिक नियोग भएका युरेपियन युनियन (इयू) का मुलुकहरुले युरोपमा बसेको नेपालीहरुको पारिवारिक विवरण बुझ्नु परेमा नेपाल सरकारका निकाय मार्फत वा नेपालको सुरक्षा निकायसहित मात्र आउने व्यवस्था गर्न यो बैठक परराष्ट्र मन्त्रालयमार्फत यो बैठक अनुरोध गर्दछ । युरोपियन क्षेत्रीय बैठकमा बचेको रकम यूरोपमा आप्रवासी समस्यामा परेका नेपालीहरुको सहयोगको लागि स्थापना हुने यूरोप स्तरीय राहत कोषमा जम्मा गरिनेछ ।

१४. हालै मात्र नेपालमा आएको बाढी पीडितको सहयोगको लागि गैरआवासीय नेपाली संघका तर्फबाट प्रधानमन्त्री राहत कोषमा रु ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय यो बैठक गर्दछ ।

१५. गैरआवासीय नेपाली दिवस २०१९ को अवसर पारेर आगामी अक्टोबर–१३ देखि १६ मा काठमाडौंमा हुने ९ औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन सफल पार्न सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आह्वान गरिन्छ ।

१६. विदेशस्थित नेपाली नियोगहरुमा आर्थिक कुटनीतिकलाई बढी प्रभाावशाली बनाउने उद्देश्यले वाणिज्य तथा अर्थ, पर्यटन तथा मानव संशाधन हेर्न छुट्टाछुट्टै व्यक्तिको व्यवस्थापन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने ।

१७. गैरआवासीय नेपाली संघ भूपु गोर्खाहरुले उठाउँदै आएको मागप्रति ऐक्यबद्धता जाहेर गर्दै कुटनीतिक माध्यमबाट सो विषय सम्बोधनका लागि नेपाल सरकारसँग आग्रह गर्दछ । यो बैठकमा सहभागी हुने प्रमुख अतिथि विशिष्ट अतिथिहरु अन्य अतिथिहरु विभिन्न मुलुकबाट पाल्नुभएका गैरआवासीय प्रतिनिधीहरु, बैठकमा सहभागिता जनाएर गैरआवासीय नेपालीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउन हुने अष्ट्रिया, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, स्पेन, स्वीट्जरल्याण्ड, रसिया, संयुक्त अधिराज्य स्थित नेपाली राजदूतहरुका प्रतिनिधीहरुमा यो बैठक आभार व्यक्त गर्दछ। साथै बैठक सफलतापूर्वक सम्पन्न गर्न सहयोगी सम्पूर्ण प्रायोजक, सहयोगी एवं स्वयंसेवक, पत्रकार र कलाकार सबैमा यो बैठक हार्दिक आभार प्रकट गर्दछ ।

बैठक सफलतापूर्वक आयोजना गर्न खेलेको भूमिकाका लागि राष्ट्रिय समन्वय परिषद् इटालीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । बैठक आयोजना गर्नका लागि ठूलो सहयोग गर्नुभएका रोमस्थित नेपाली महावाणिज्यदूत पावोलो लुगारीलाई विशेष धन्यवाद ज्ञापन गर्दछ ।

डा. बद्री केसी

महासचिव, गैरआवासीय नेपाली संघ

४ अगष्ट, २०१९ रोम, इटाली