-१०८ श्रीमदभागवत स्वर्णकल्याण सेवापरिषदको वैदिक संस्कार शिक्षा अभियान २६ औं हप्तामा

१०८ श्रीमदभागवत स्वर्णकल्याण सेवापरिषदको वैदिक संस्कार शिक्षा अभियान २६ औं हप्तामा

Hollywood Khabar December 07,2019 Comments

सन्तोष दाहाल, ललितपुर/१२/८/१९

भागवत धर्म संस्कार, संस्कृति तथा परम्पराको प्रचार प्रसार संरक्षणार्थ २०६७ सालमा स्थापित भई समाजमा भौतिक तथा आध्यात्मिक विकास गराउँदै अघि बढिरहेको १०८ श्रीमदभागवत स्वर्णकल्याण सेवापरिषदको झरुवारासी उपसमितिले सुरु गरेको वैदिक संस्कार शिक्षा अभियानले २६ औं हप्ता पुरा गरेको छ ।

पछिल्लो समय समाजमा नयाँ पुस्तामा पाश्चात्य समाज र संस्कृतिको प्रभाव बढ्दै जाँदा पूर्वीय दर्शन, संस्कृति र परम्परागत मूल्य मान्यतालाई जोगाईराख्ने उद्देश्यका साथ गोदावरी नगरपालिका १३ झरुवारासीमा गत जेठ १८ गते देखि वैदिक संस्कार शिक्षा अभियान सुरु गरिएको थियो , जसमा अहिले ७० जना बालबालिकाहरुले हरेक शनिबार बिहान २ घण्टा सांस्कारिक कक्षा लिईरहेका छन् । २०६९/ ७० मा तत्कालीन राष्ट्रपति रामवरण यादवबाट विद्या पदक प्राप्त गर्न सफल नेपालकै प्रथम महिला कथाव्यास नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्रीले ती बालाबालिकाहरुलाई वैदिक संस्कार सम्बन्धी शिक्षा प्रदान गरिरहेकी छिन ।

शनिबार अभियानले २७ औं हप्ता पुरा गरेको अवसरमा १०८ श्रीमदभागवत स्वर्णकल्याण सेवापरिषदको झरुवारासी उपसमितिले बालबालिका, अभिभाभक, अथानीय बुद्धिजीवी तथा जनप्रतिनिधिको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा १०८ श्रीमदभागवत स्वर्णकल्याण सेवापरिषदका संस्थापक मुमुक्षु श्री उद्धव शर्माले धार्मिक आध्यात्मिक जागरण संगै समाजमा केही सामाजिक काम पनि गर्नुपर्छ भन्ने उद्देश्य र मानसिकताका साथ उक्त अभियानको सुरुवात गरिएको जानकारी दिए ।

धर्म र संस्कारको जागरण सबैमा सानै उमेरमा दिन सके राम्रो हुने भन्दै मुमुक्षु शर्माले श्रीमदभागवत कथा राम्रो संग बुझेको व्यक्तिले कदापि धर्म परिवर्तन गर्न नसक्ने बताए। साथै उनले विगतमा सेवा परिषदले गरेका धार्मिक आध्यात्मिक अनुष्ठान , संघर्ष तथा सफलताको विषयमा पनि जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित गोदावरी १३का वडाध्यक्ष भाष्कर थापाले समाजको नयाँ पुस्तालाई धार्मिक आध्यात्मिक जागरणको साथै वैदिक संस्कारको जग बसाल्न स्वर्णकल्याण सेवा परिषदले सुरु गरेको अभियान अत्यन्तै सराहनीय भएको बताए। साथै थापाले २ घन्टाको कक्षाले मात्रै सबै बालबालिकामा सम्पूर्ण शिक्षा दिन नसकिने भएकोले यसका लागि अभिभाभकको पनि महत्त्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिएका छन् । समाजमा थप अभियान सन्चालन गर्नको लागि आफू र वडाको तर्फबाट आवश्यक सबै सहयोग गरिरहेको र आगामी दिनहरुमा पनि भारपुर सहयोग गर्न तत्पर रहेको थापाले प्रतिबद्धता व्यक्त गरे ।

उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित अन्य सहभागीहरुले २ घण्टे कक्षा मात्र सीमित नगरी यस्तो पवित्र अभियानलाई पाठ्यक्रमकै रुपमा अघि बढाउनका लागि सुझाव दिएका छन । जवाफमा देवी अनुराधा शास्त्रीले गुरुकुलीय शिक्षा प्रणालीकै रुपमा यो अभियानलाई अगाडी बढाईने बताईन । साथै उनले समाजमा धन भन्दा बढी मूल्य र आवश्यक्स्ता संस्कारको रहेको र असल संस्कार प्राप्त गर्न सके धन कमाउन कुनै गाह्रो नहुने विचार व्यक्त गरेकी थिईन ।